सिरहा–४ : जनताको रोजाइमा बालेन, पुराना दलहरूलाई धौ–धौ
पाँच पूर्वमन्त्री मैदानमा, रोचक बन्दै निर्वाचन
मुकेशकुमार यादव
|
२०८२ माघ २२ गते १६:५७
सिरहा । सिरहाको निर्वाचन क्षेत्र नम्बर ४ अहिले नयाँ अनुहार र नयाँ विचारको तीव्र खोजीमा देखिएको छ । यहाँका गाउँ–गाउँ र टोल–टोलमा उम्मेदवारहरूको चर्चाभन्दा बढी ‘बालेन सरकार’को नारा गुञ्जिन थालेको छ । घण्टी चुनाव चिन्ह बोकेका उम्मेदवारप्रति सर्वसाधारणको बढ्दो चासोले पुराना दलहरूलाई चुनौती थपेको छ । यो क्षेत्रमा अहिले दुधे बालकदेखि वृद्ध वृद्धासम्मको मुखमा ‘बालेन सरकार’ कै कुरा सुन्न सकिन्छ ।
यही बदलिँदो राजनीतिक माहौलका बीच यस क्षेत्रबाट पाँच जना पूर्वमन्त्रीहरू चुनावी मैदानमा उत्रिएका छन्, जसले सिरहा–४ लाई जिल्लाकै सबैभन्दा बढी चासोको केन्द्र बनाएको छ । बाहिरबाट हेर्दा पूर्वमन्त्रीहरूकै दबदबा देखिए पनि ‘ग्राउण्ड’मा भने नयाँ शक्ति र नयाँ अनुहारप्रतिको आकर्षण निकै तीव्र बन्दै गएको छ ।
यस क्षेत्रबाट प्रतिस्पर्धामा रहेका दिग्गज पूर्वमन्त्रीहरूमा नेपाली कम्युनिस्ट पार्टीका नेता अजयशंकर नायक, जनता समाजवादी पार्टी नेपालका उपाध्यक्ष राजकिशोर यादव, नेकपा एमालेका धर्मनाथ साह, जनमत पार्टीका डा. वीरेन्द्र प्रसाद महतो र बहुजन शक्ति पार्टीका अध्यक्ष विश्वेन्द्र पासवान रहेका छन् ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीबाट ३३ वर्षीय इन्जिनियर तपेश्वर यादवले उम्मेदवारी दिएका छन्, भने नेपाली कांग्रेसले चन्द्रकला कुमारी यादवलाई मैदानमा उतारेको छ ।
सिरहा–४ को राजनीतिक इतिहास हेर्दा यो क्षेत्र सधैँ नयाँ र परिवर्तनको पक्षमा उभिँदै आएको देखिन्छ । २०५१ मा नेपाली कांग्रेसका प्रखर नेता प्रदीप गिरीलाई जिताएको यो क्षेत्रले २०६४ को मधेस आन्दोलनको रापतापमा मधेसी जनअधिकार फोरमका राजकिशोर यादवलाई विजयी गराएको थियो । २०७९ को निर्वाचनमा नयाँ शक्तिका रूपमा उदाएको जनमत पार्टीले समानुपातिकतर्फ सबैभन्दा बढी मत पाउनुले पनि यहाँका जनता नयाँ विकल्पको खोजीमा रहेको पुष्टि गर्छ ।
२०७९ को निर्वाचनमा जनमत पार्टीले समानुपातिकतर्फ १६ हजार १६० मत ल्याएर अग्रस्थान हासिल गरेको थियो । त्यसपछि जसपा नेपालले १० हजार ८५१, एमालेले ९ हजार १०७, माओवादी केन्द्रले ६ हजार ६६५ र नेपाली कांग्रेसले ६ हजार २१९ मत प्राप्त गरेका थिए । त्यतिबेला रास्वपाले १ हजार ८०१ मत मात्र पाएको थियो । बाम राजनीतिको बलियो प्रभाव रहेको यस क्षेत्रमा पछिल्ला परिणामहरूले जनताको परिवर्तनप्रतिको चाहनालाई उजागर गरेका छन् ।
यसपटकको समीकरण पनि फेरिएको छ । २०७९ मा एमाले–जसपा गठबन्धनबाट जितेका डा. वीरेन्द्र महतो अहिले जनमत पार्टीका उम्मेदवार बनेका छन् । उता, मनोनयन दर्ताकै दिन धर्मनाथ साह नेकपा एमाले प्रवेश गरी चुनावी मैदानमा उत्रिएका छन् ।
बहुजन शक्ति पार्टीका अध्यक्ष विश्वेन्द्र पासवान भने पहिलोपटक प्रत्यक्ष निर्वाचनमा होमिएका हुन् । २०७० मा समानुपातिकबाट संविधानसभा सदस्य बनेका अजयशंकर नायक यस क्षेत्रका परिचित र कुशल कानुन मन्त्रीका रूपमा चिनिएका नाम हुन् ।
कल्याणपुर नगरपालिका–११ का स्थानीय विनोद कुमार साह भन्छन्, ‘पूर्वमन्त्रीहरूको विगत, गत भदौ २३–२४ गतेको आन्दोलन र पछिल्लो समय बालेन्द्र साह (बालेन) को रास्वपा प्रवेशले यहाँ एउटा छुट्टै जनलहर सिर्जना गरेको छ ।’ पाँच पटक मतदान गरिसकेका साहले यसपटक देशमा नयाँ परिवर्तन ल्याउनकै लागि मत हाल्ने अठोट व्यक्त गरेका छन् ।
यस क्षेत्रबाट १३ दल र २३ स्वतन्त्र गरी कुल ३६ जनाले उम्मेदवारी दिएका छन् । यहाँ ४९ हजार ९६९ महिला र ५६ हजार ७१७ पुरुष गरी कुल १ लाख ६ हजार ६८६ मतदाता रहेका छन् । निर्वाचन सम्पन्न गर्न २२३ मतदानस्थल र ५३१ मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यालय सिरहाले जनाएको छ ।
Facebook Comments