अदालतमा बयान फेरेपछि 'सरकारी साक्षी' नै परे भ्रष्टाचार मुद्दामा

२४ लाख ५० हजारको बिगो माग

User Image मेयरसाप डेस्क | २०८२ माघ २२ गते १७:१८
Image of https://mayorsap.com/storage/photos/shares/bisesh-adalat-ba7arfa3ws_1.jpeg

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालतमा प्रतिकूल बकपत्र (बयान) गरेको भन्दै भक्तपुरका तेज बहादुर तामाङ र सानुकान्छा तामाङविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । यसअघि उनीहरूलाई आयोगले घुस प्रकरणमा सरकारी साक्षीका रूपमा पेस गरेको थियो ।

भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरका प्रमुख मालपोत अधिकृत कुमार आचार्य र कार्यालय सहयोगी टिकाराम राउतले मोही जग्गा दर्ताका लागि २४ लाख ५० हजार रुपैयाँ घुस लिएको मुद्दामा आयोगले तेज बहादुर र सानुकान्छालाई सजायमा पूर्ण छुट दिई साक्षी बनाएको थियो ।

आयोगका अनुसार २०८२ भदौ २३ गते विशेष अदालतमा बकपत्र गर्ने क्रममा उनीहरूले अनुसन्धानका बेला दिएको बयानको ठीक विपरीत बयान दिएका थिए । घुस दिएको कार्य अनुसन्धानबाट पुष्टि भए पनि अदालतमा बयान फेरेर आरोपितलाई सघाउन खोजेपछि आयोगले उनीहरूलाई नै प्रतिवादी कायम गरेको हो ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेले उनीहरूविरुद्ध २४ लाख ५० हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र जरिवानाको मागदाबी गरिएको जानकारी दिए ।


Facebook Comments