मुगुमा पूर्वमन्त्रीदेखि नयाँ अनुहारसम्मको रोचक भिडन्त
मुगुमा चुनावी सरगर्मी
मेयरसाप डेस्क
|
२०८२ फागुन ३ गते १४:४४
मुगु । प्रतिनिधिसभा निर्वाचनका लागि मुगुमा राजनीतिक दलहरूबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । यस क्षेत्रबाट मुख्य दलका प्रभावशाली नेताहरू चुनावी मैदानमा उत्रिएपछि चुनावी चहलपहल गाउँ–गाउँसम्म पुगेको हो ।
यसपटक मुगुबाट चुनावी दौडमा नेपाली कांग्रेसका खड्गबहादुर शाही, निवर्तमान जिल्ला समन्वय समिति प्रमुख एमालेका पूर्णबहादुर रोकाया र नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट पूर्वमन्त्री चन्द्रबहादुर शाही मुख्य प्रतिस्पर्धीका देखिएका छन् ।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीबाट भुवन टमाटाले नयाँ अनुहारका रूपमा चुनौती पेश गरिरहनुभएको छ भने माओवादीका रङ्गवीर परियार, राप्रपाका बलबहादुर मल्ल र प्रगतिशील लोकतान्त्रिक पार्टीका एटन मल्ल पनि प्रतिस्पर्धामा छन् ।
२०७९ को निर्वाचनमा समानुपातिकतर्फ एमाले पहिलो र कांग्रेस दोस्रो भएका थिए । त्यतिबेला तेस्रो र चौथो स्थानमा रहेका माओवादी केन्द्र र एकीकृत समाजवादीबीच अहिले एकता भई नेपाली कम्युनिष्ट पार्टी बनेको छ । २०७९ मा कांग्रेस–माओवादी–एकीकृत समाजवादी गठबन्धनका ऐनबहादुर शाही १४ हजार ७०६ मतका साथ विजयी भएका थिए ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार मुगुमा कुल ३६ हजार ३१ जना मतदाता छन् । चार स्थानीय तह रहेको यहाँ निर्वाचनका लागि ६७ मतदानस्थल र ७९ मतदान केन्द्र तोकिएका छन् । २०७९ को निर्वाचनमा मुगुमा उत्साहजनक ७४ प्रतिशत मतदान भएको थियो ।
पुराना दलका नेताहरू आफ्नो अनुभव र संगठनका आधारमा जित सुनिश्चित भएको दाबी गरिरहेका छन् भने नयाँ शक्तिका उम्मेदवारहरू परिवर्तनको एजेन्डासहित मतदाताको घरदैलोमा पुगिरहेका छन् ।
Facebook Comments