आचारसंहिता उल्लंघनका ६६ उजुरीमध्ये ३२ वटाको जवाफ प्राप्त
७७ वटै जिल्लामा अनुगमन तीव्र
मेयरसाप डेस्क
|
२०८२ फागुन ३ गते १४:५९
काठमाडौं । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि जारी आचारसंहिता उल्लङ्घन गरेको आरोपमा केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म ६६ वटा उजुरी दर्ता भएका छन् ।
आयोगले ती उजुरीका आधारमा सम्बन्धित पक्षसँग स्पष्टीकरण माग गरेकोमा ३२ वटाको जवाफ प्राप्त भइसकेको निर्वाचन आयोगले जनाएको छ ।
आयोगले आचारसंहिता विपरीत कार्य गर्ने राजनीतिक दल, उम्मेदवार, सरकारी तथा गैरसरकारी संस्था, सञ्चारमाध्यम र पत्रकारलाई स्पष्टीकरण सोधेको हो ।
दर्ता भएका सञ्चारमाध्यम र पत्रकारका हकमा भने आवश्यक कारबाहीका लागि प्रेस काउन्सिल नेपालमार्फत प्रक्रिया अगाडि बढाइएको आयोगका कानुन अधिकृत मोहनराज जोशीले जानकारी दिए ।
आयोगलको केन्द्रसँगै ७७ वटै जिल्लामा आचारसंहिता अनुगमनका लागि छुट्टै अधिकृत र समितिहरू सक्रिय रहेका छन् ।
निर्वाचन आचारसंहिता २०८२ को दफा ३२ बमोजिम सहायक प्रमुख जिल्ला अधिकारीलाई आर्थिक बाहेकका र प्रमुख कोष नियन्त्रकलाई आर्थिक विषयका आचारसंहिता अनुगमन गर्ने जिम्मेवारी दिइएको छ ।
जिल्ला स्तरमा प्राप्त उजुरीका सम्बन्धमा सम्बन्धित जिल्लाबाटै स्पष्टीकरण सोध्ने र दोषी देखिएमा कानुनी कारबाहीको प्रक्रिया अघि बढाउने काम भइरहेको छ ।
आचारसंहिताको प्रभावकारी कार्यान्वयनले मात्र निर्वाचन स्वच्छ र निष्पक्ष हुने भन्दै आयोगले अनुगमनलाई थप कडा बनाउने रणनीति लिएको छ ।
Facebook Comments