जेन–जी आन्दोलनमा लुटिएको पेस्तोल र गोली बरामद, एक युवक पक्राउ
मेयरसाप डेस्क
|
२०८२ फागुन ३ गते १६:४१
बिर्तामोड । झापाको अनारमनीस्थित इलाका प्रहरी कार्यालयबाट जेनजी आन्दोलनका क्रममा लुटिएको अत्याधुनिक पेस्तोल र गोलीसहित प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा कनकाई नगरपालिका–८ का २२ वर्षीय सुजय राजवंशी रहेका छन् । प्रहरीका अनुसार, स्थानीय तुलबहादुर थापा मगरको घरमा हातहतियार र लागूऔषध लुकाइएको विशेष सूचनाका आधारमा आइतबार छापा मारिएको थियो ।
सो क्रममा घरपछाडि रहेको कुखुराको खोरमा प्लास्टिकको ड्रमभित्र लुकाइराखेको अवस्थामा ९ एमएमको एक थान पेस्तोल र ४० राउन्ड गोली बरामद भएको हो । हतियार लुकाउन संलग्न तुलबहादुरका छोरा २२ वर्षीय सौगात थापा मगर भने हाल फरार छन् ।
पक्राउ परेका राजवंशीलाई मुलुकी अपराध संहिता २०७४ बमोजिम हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा कारबाही प्रक्रिया अगाडि बढाइने प्रहरीले जनाएको छ ।
Facebook Comments