Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

सर्लाहीमा सब–इन्जिनियरको ह*त्यापछि अदालतका कर्मचारी आन्दोलित

बुबाको किरिया सकेर फर्केकै रात ह*त्या

User Image मेयरसाप डेस्क | २०८२ फागुन ३ गते १७:२३
Image of https://mayorsap.com/storage/photos/shares/hatya_4.jpg

काठमाडौं । सर्लाहीको पूर्वाधार विकास कार्यालयमा कार्यरत सब–इन्जिनियर प्रमोदकुमार यादवको अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेपछि त्यसको विरोधमा आज जिल्ला अदालतका कर्मचारीहरूले कामकाज ठप्प पारेका छन् ।

कर्मचारीहरूले दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्न र कार्यक्षेत्रमा कर्मचारीको सुरक्षा ग्यारेन्टी गर्न माग गर्दै अदालतको मूल ढोकामा धर्ना दिएका हुन् । सिरहाको सुखीपुर नगरपालिका–६ घर भएका ३६ वर्षीय यादवको आइतबार राति मलङ्गवा नगरपालिका–१० स्थित उनकै डेरामा हत्या भएको हो ।

उनी आइतबार दिउँसो मात्र बुबाको काजकिरिया सकेर घरबाट मलङ्गवा फर्किएका थिए । श्रीमती पुनम यादवका अनुसार मोटरसाइकलमा आएका अज्ञात व्यक्तिहरूले उनलाई कोठाबाहिर बोलाएर देब्रे छातीमा गोली प्रहार गरेका थिए ।

गम्भीर घाइते यादवलाई तत्काल प्रादेशिक अस्पताल मलङ्गवा पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । प्रहरीले घटनास्थलबाट पेस्तोलको एक राउन्ड खोका बरामद गरेको छ ।

सर्लाहीका प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले घटनाको विभिन्न कोणबाट अनुसन्धान भइरहेको र अपराधीको खोजी कार्य तीव्र पारिएको जानकारी दिए । मृतक यादव श्रीमती र दुई वर्षीया छोरीसँगै मलङ्गवामा बस्दै आएका थिए ।


Facebook Comments