टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु, राजमार्ग अवरुद्ध
स्थानीयद्वारा आगजनी, बजार क्षेत्र तनावग्रस्त
मेयरसाप डेस्क
|
२०८२ फागुन ५ गते १०:२८
बनेपा । अरनिको राजमार्गअन्तर्गत बनेपाको दूरसञ्चार कार्यालय नजिकै बुधबार बिहान टिपरले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ, भने अर्का एकजना घाइते भएका छन् । बागमती प्रदेश ०१–००४ क ३४२३ नम्बरको टिपरले बागमती प्रदेश ०२–०६३ प ९१८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो ।
दुर्घटनापछि बनेपा क्षेत्र अत्यन्तै तनावग्रस्त बनेको छ । आक्रोशित स्थानीय र आफन्तहरूले ठक्कर दिने टिपरमा आगजनी गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । प्रदर्शनकारीले टिपर जलाउन खोज्दा प्रहरीले रोक्ने प्रयास गरेपछि केही बेर दोहोरो झडप समेत भएको थियो ।
अहिले प्रदर्शनकारीहरूले अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध पारेका छन् । सडक अवरुद्ध हुँदा काठमाडौँबाट पूर्वतर्फ जाने र काठमाडौँ भित्रिने सवारी साधनहरू बीचैमा रोकिएका छन् । प्रहरीले स्थिति साम्य पार्ने र राजमार्ग खुलाउने प्रयास गरिरहेको भए पनि स्थानीयले दोषीलाई कारबाही र उचित क्षतिपूर्तिको माग गर्दै प्रदर्शन जारी राखेका छन् ।
Facebook Comments