५ स्थानीय तहमा ‘सामुदायिक नर्सिङ तथा घरदैलो’ कार्यक्रम
घर-घरमा नर्सिङ सेवा
मेयरसाप डेस्क
|
२०८२ फागुन ५ गते १६:४७
काठमाडौं । अस्पतालसम्म पुग्न नसक्ने र स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका नागरिकका लागि सरकारले सुरु गरेको ‘सामुदायिक नर्सिङ तथा घरदैलो’ कार्यक्रम निकै प्रभावकारी देखिएको छ ।
हाल काठमाडौँको चन्द्रागिरि, मोरङको इटहरी, महोत्तरीको बर्दिवास, स्याङ्जाको बालिङ र बर्दियाको बारबर्दिया नगरपालिकामा यो कार्यक्रम सञ्चालनमा छ ।
ती नगरपालिकाका प्रत्येक वडामा खटिएका नर्सहरूले घर–घरै पुगेर नवजात शिशुदेखि शताब्दी उमेरका ज्येष्ठ नागरिकसम्मको स्वास्थ्य अवस्था बुझ्ने र उपचार गर्ने गरेका छन् ।
स्वास्थ्य सेवा विभागको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाका निर्देशक हिरादेवी निरौलाका अनुसार, नर्सहरूले प्रत्येक नागरिकको ‘डिजिटल प्रोफाइल’ तयार गरी उनीहरूको स्वास्थ्य जोखिमका आधारमा नियमित फलोअप गर्ने गरेका छन् ।
के–के हुन्छ घरदैलोमा?
नर्सहरूले घरमै पुगेर रक्तचाप (बीपी), मधुमेह (सुगर), तौल परीक्षण र प्राथमिक उपचार सेवा प्रदान गर्छन् । चन्द्रागिरि नगरपालिकाका वरिष्ठ जनस्वास्थ्य अधिकृत शम्भुकुमार महतोका अनुसार, विगत तीन वर्षदेखि सञ्चालित यो कार्यक्रमले विशेषगरी सुरक्षित मातृत्व र नसर्ने रोगको पहिचानमा ठूलो सहयोग पुर्याएको छ ।
नर्सहरूले उपचार मात्र गर्दैनन्, उनीहरूले स्वस्थ जीवनशैली, सन्तुलित खानपान, धुम्रपान तथा मध्यपान त्याग, र मानसिक स्वास्थ्यबारे परामर्श समेत दिने गरेका छन्। यसका साथै पाठेघर र स्तन क्यान्सर जस्ता गम्भीर रोगबारे जनचेतना फैलाउने काम पनि भइरहेको छ ।
यस कार्यक्रमको प्रभावस्वरुप महोत्तरीको बर्दिवासमा संस्थागत सुत्केरी गराउनेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । घरमै नर्स पुगेर परामर्श दिँदा गर्भवतीहरू नियमित चेकजाँच र सुरक्षित सुत्केरीका लागि अस्पताल जाने क्रम बढेको हो ।
Facebook Comments