सर्लाहीमा तीन मोटरसाइकल एकापसमा ठोक्किँदा २ जनाको मृत्यु
चार जनाकाे उद्धार
मेयरसाप डेस्क
|
२०८२ फागुन ६ गते १०:२९
मलङ्गवा । सर्लाहीको ईश्वरपुरमा तीनवटा मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाले ज्यान गुमाएका छन् । बुधबार राति ८ बजे ईश्वरपुर नगरपालिका–१३ स्थित बाँके–संग्रामपुर सडक खण्डको ठिल्ला नजिकै दुर्घटना भएको हो ।
दुर्घटनामा परी ज्यान गुमाउनेहरूमा हरिपूर्वा नगरपालिका–९, मिर्चैयाका ३० वर्षीय मुकेश राय र सोही ठाउँका ३५ वर्षीय रामज्ञान राय रहेका छन् । गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा पुर्याइए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।
प्रहरीका अनुसार भारतीय नम्बर प्लेटका बीआर ३० एआर ३४५८, बीआर ३० एपी ३८०९ र नेपाली नम्बर प्लेटको एचपी ५५ सी ०६२३ नम्बरका मोटरसाइकलहरू एकापसमा ठोक्किएका हुन् ।
दुर्घटनाको सूचना पाउनासाथ प्रहरी चौकी गौरीशंकरबाट खटिएको टोलीले घटनास्थलबाट चार जनालाई उद्धार गरी लालबन्दीस्थित मोडल अस्पताल पुर्याएको थियो ।
दुर्घटनामा सामान्य घाइते भएका हरिपूर्वा–९ का २२ वर्षीय विक्रम राय र ४२ वर्षीय विश्वास राय उपचारपछि डिस्चार्ज भएका छन् । उनीहरूलाई अहिले इलाका प्रहरी कार्यालय केशरगन्जले नियन्त्रणमा लिएको छ ।
तीव्र गतिका कारण मोटरसाइकलहरू ठोक्किएको प्रारम्भिक अनुमान गरिएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
Facebook Comments