विपद्का घटनामा परेका २९४ जनाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार
उद्धार गरी ल्याइएका र अलपत्र यात्रु तथा स्थानीयहरूलाई गृह मन्त्रालयले तत्काल राहत सामग्री पनि उपलब्ध गराइरहेको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिनु भयो
Mayorsap,विवेक मण्डल
सोम, असोज १४, २०८१ | १६:०१ बजे
काठमाडौँ
असोज १४ गते
बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा परेका २९४ जनाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ।
आइतबारदेखि गृह मन्त्रालयको अनुरोधमा नेपाली सेनाको हेलिकप्टरले काभ्रेको बढी प्रभावित क्षेत्र रोशी गाउँपालिका लगायत विभिन्न प्रभावित क्षेत्रमा उद्धारका लागि हेलिकप्टर परिचालित रहेको छ ।
सोमबारसम्म सेनाको हेलिकप्टरबाट काभ्रेको दार्चा र मंगलटारबाट १३२ जनाको उद्धार गरी सुरक्षित स्थानमा ल्याइएको जानकारी प्राप्त भयो । उद्धार गरी ल्याइएका र अलपत्र यात्रु तथा स्थानीयहरूलाई गृह मन्त्रालयले तत्कालको राहत सामग्री पनि उपलब्ध गराइरहेको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिनु भयो । त्यसैगरी प्रभावित क्षेत्रमा खाज तथा उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर सिन्धुली र ललितपुरमा समेत पठाइएको प्रवक्ता तिवारीले बताउनु भयो ।
आइतबार काभ्रे, सिन्धुली र ललितपुरमा गरी १६२ जनाको हेलिकप्टरबाट उद्धार गरिएको थियो ।
यहाँ बिपी राजमार्गमा अवरुद्ध सडक खुलाउनुका साथै डोरीको सहायताबाट समेत सुरक्षाकर्मीले अलपत्र यात्रुहरूको उद्धार जारी राखेका छन् । सो क्षेत्रको सडक संचालन गर्न आवश्यक सवारीसाधनका लागि पेट्रोलियम पदार्थ समेत हेलिकप्टरबाट ढुवानी गरिरहेको गृह मन्त्रालयले जनाएको छ । यता पहिरोका कारण पृथ्वी राजमार्ग अन्तर्गत धादिङको झ्याप्ले खोलाले अवरुद्ध सडक आइतबार रातिदेखि संचालनमा आएको छ ।
विपदमा अलपत्र परेकाहरूको उद्धारमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टिम प्रभावित क्षेत्रमा सक्रियताका साथ परिचालित रहेको गृह मन्त्रालयले जनाएको छ ।