Ad Image

बालेनको नगरमा वृद्धले पाइनन् न्यायः वडाअध्यक्ष चिनिकाजीको ‘मिलेमतो’मा २ वर्षदेखि घर कब्जामा

User Image रामचन्द्र मिश्र | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/22/ward 22 case.jpg

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. २२ सुन्धारामा व्यवसायिक प्रयोजनामा प्रयोग भएको ७३ वर्षकी वृद्धको घर भाडावालाले कब्जामा लिन खोज्दा वडाध्यक्ष चिनिकाजी महर्जनले सहयोग गरेको पाइएको छ ।

७३ वर्षीया प्रमिला सत्याल कार्कीको घर बहालमा चार वर्ष अघि बसेका व्यक्तिले गएको दुई वर्षदेखि घरधनीको चाहनाविपरीत भाडासमेत नबुझाई कब्जामा लिएका छन् । उनीहरुलाई हटाउन र बहाल असुली गरिदिन पटक पटक वडा कार्यालयमा जाँदापनि वडाध्यक्ष चिनिकाजी महर्जनले घरधनीलाई सहयोग नगरेको पाइएको छ ।

बरू घरधनी सत्यालको घर कब्जामा लिएर बसेका व्यक्तिहरूसँग महर्जनको साँठगाँठ देखिएको छ । पीडित सत्यालले आफ्‌नो घर दुुई वर्षदेखि कब्जा भएको भन्दै न्याय माग्न वडा कार्यालयमा जाँदा न्याय नपाएको गुनासो गरेकी छिन् । पीडक पक्षसँग वडाध्यक्षको साँठगाँठ देखिएपछि वडा अध्यक्षको सुशासनमाथि प्रश्न उब्जिएको छ ।

के हो त घटना ?

धरहरा छेउ सुन्धारामा ७३ वर्षकी प्रमिला सत्याल कार्कीको व्यापारिक प्रयोजनमा भाडामा लगाउन मिल्ने घर छ । उनले यो घर दाइजोमा पाएको हो । यसकै आम्दानीबाट बूढेसकालमा कार्कीले घर व्यवहार धान्दै आएकी थिइन् । तर २०८० साउनपछि कार्कीले उक्त घरको बहाल लिन पनि पाएकी छैनन् भने घर पनि अरूले नै कब्जा गरिदिएका छन् । उनको हातमा मासिक २ लाख २५ हजार रुपैयाँ बहालवापतको पैसा आउन छाडेको ठ्याक्कै दुई वर्ष भएको छ ।

२०७७ साल मंसिर २१ गते प्रमिलाले सुन्धाराको तीन तले घर मासिक २ लाख २५ हजार तिर्ने शर्तमा दुई वर्षको बहाल सम्झौता गरी स्माइल लेडिज वेयर पसल सञ्चालन गर्ने ३७ वर्षकी प्रविना खत्री पौडेललाई दिइन् । दुई वर्षसम्म भाडामा बस्ने प्रविनाले समयमै घरधनी प्रमिलालाई भाडा बुझाइन् । दुई वर्ष बितेपछि भने प्रविनालाई घर बहालमा नदिने घरधनीको सन्देश आइपुग्यो । प्रविनाले घर बहाल सम्झौता नबिकरण गर्न जाँदा घर चुहिने भएकाले पुनर्निर्माण गर्नुपर्ने भन्दै बहालमा उनलाई नदिने घरधनी प्रमिला पक्षले जानकारी गराए ।

प्रविनाका अनुसार भने घरधनीले मौखिक रुपमा सम्झौता नगरी बस्न भनेका थिए । घरधनी पक्षले भने घरको समान तत्काल सार्न नसकिने जानकारी गराएपछि व्यवसाय अन्त नसारुञ्जेल केही समयका लागि पहिलेकै भाडा दिएर बस्न मौखिक अनुमति दिएको जानकारी गराए । उता प्रमिला भने व्यवसाय गरुञ्जेल घरधनीले बस्नु भनेकाले आफूले टन्नै लगानी गरेको दाबी गर्छिन । जम्मा पाँच लाखको व्यवसायिक फर्म दर्तामा व्यवसाय गरेकी प्रविना तीन करोडको लगानी रहेको दाबी गर्छिन । उनको यो दाबी नै फर्मको पूँजीको आकारमा नमिल्दो देखिन्छ । भाडामा लिने र भाडामा घर दिनेबीच २०८० साउन ३० गतेसम्म सम्बन्ध सहज नै देखिन्छ ।

२०८० को भदौपछि भने स्माइल लेडिज वेयर पसल सञ्चालन गर्ने प्रविनाले घरधनी प्रमिला सत्याल कार्कीलाई भाडा बुझाउन छोडिन् । घर सम्झौता सकिएको त्यतिबेलासम्म आठ महिना भइसकेको थियो । प्रविनाले त्यतिबेलासम्म समान सार्ने कुनै तयारी गरेको देखिँदैन । त्यसको चार महिनापछि घर खाली गरिदिने ३५ दिने सूचना घरधनी प्रमिला सत्याल कार्कीले भाडावाली प्रविना खत्री पौडेललाई बुझाइ हस्ताक्षर समेत गराएको देखिन्छ ।

प्रविनाले घर खाली गरिदिने ३५ दिने घरधनीको सूचना २०८० पुस २ गते बुझिलिएको समेत देखिन्छ । तर ३५ दिन बिते पनि प्रविनाले घर खाली गरिदिइनन् । हामीले यस विषयमा घर बहालमा बस्ने प्रविनासँग फोनमार्फत जानकारीसमेत लिने प्रयत्न गर्यौ । प्रविनाले हामीलाई घटनाबारे जानकारी दिन खोजिनन् । बरू फोनमार्फत नै अर्को दुईजना व्यक्ति लगाएर समाचार नलेख्न भन्दै धम्क्याउन लगाइन् । प्रविनाले उनीसँग संवाद गर्दागर्दै एक पुरुषलाई फोन दिएर धम्क्याउन लगाइन् भने अर्की एक गिरि थरकी महिलाले उनीसँग संवाद गरेको भोलिपल्ट फोन गरेर धम्क्याएकी थिइन् ।

हामीलाई फोन गरेर धम्क्याउने गिरी थरकी महिला 

न्याय माग्न वडामा जाँदा निवेदन दर्ता गराउनै सकस

घर खाली नभएपछि घरधनीका छोरा प्रविन कार्की घर खाली गराइदिन गुहार माग्दै २२ नम्बरका वडा अध्यक्ष चिनिकाजी महर्जन कहाँ पुगे । सुरूमा वडा अध्यक्ष महर्जनले प्रविनले घर खाली गराइदिन लिएर गएको निवेदन नै दर्ता गर्न मानेनन् । घरधनीका छोरा प्रविनका अनुसार वडा अध्यक्ष महर्जनले घर खाली गराउने काम आफ्‌नो कार्यालयको क्षेत्राधिकार नभएको बताउँदै निवेदन दर्ता गर्न मानेनन् । निरन्तर ताकेता गरी बहालमा बस्नेबाट घर खाली गराउने अधिकार स्थानीय सरकारको वडामा रहेको मुलुकी देवानी संहितामा रहेको कानुनको बुँदा नम्बर ३९० देखि ४०५ सम्म पल्टाएर देखाएपछि २०८० चैत १६ मा २२ नम्बर वडा कार्यालयले निवेदन दर्ता गरिदियो । 

निवेदन दर्ता भएपछि एमालेबाट निर्वाचित वडा अध्यक्ष चिनिकाजी महर्जनले बहालमा बस्ने प्रविना खत्री पौडेललाई २०८१ वैशाख १४ गते पत्र नै काटेर वैशाख १७ गते दिउँसो १ बजे छलफलमा बोलाए । वडामा घरधनी र घर बहालमा लिने दुवै पक्षलाई राखेर छलफलसमेत भयो ।

छलफलमा महर्जनले घर तत्काल खाली गरिदिन मौखिक निर्देशनसमेत दिए । भाडामा बस्ने प्रविनाले घरभाडा तिर्ने र घर छाड्ने वा नछाड्ने कुनै जानकारी त्यहाँ दिइनन् । छलफल बिना निष्कर्ष टुंगियो । तर बहालमा लिने प्रविनाले घर खाली गरिदिइनन् । वडामा ताकेता गर्दा पनि वडा अध्यक्षले लिखित कुनै प्रमाण बनाइदिएनन् । न त छलफललाई नै दस्तावेजिकरण गरे । वडामा छलफलपछि पनि प्रविनाले घर खाली नगरिदिएपछि २०८१ साउन १४ मा प्रमिला सत्यालले वडालाई घर खाली गराइदिन अनुरोध गर्दै पुनः निवेदन दर्ता गराइन् ।

यो बीचमा वडाअध्यक्ष महर्जनलाई घर खाली गराइदिने सम्बन्धी एक पत्र बनाइदिन अनुरोध गर्दा पनि महर्जनले नमानेको घरधनीको आरोप छ । सुरूमा निवेदन दर्ता गरिदिनसमेत वडाले नमानेको, तीन महिनासम्म घर खाली गराइदिन वडा अध्यक्षलाई अनुरोध गर्दा समेत सुनुवाई नभएको घरधनी पक्षको दाबी छ ।

धाकधम्की दिन विभिन्न व्यक्तिको प्रयोग

यो बीचमा उता घरधनी प्रमिला सत्यालका छोरा प्रविन कार्की घरबहालमा बस्ने प्रविनाले मान्छेसमेत लगाएर परिवारमा धम्की दिएको, त्रास उत्पन्न गराएको बताउँछन् । घरधनीहरू सुरक्षा माग्दै जिल्ला प्रशासन कार्यालय, मानवअधिकार आयोगसमेत पुगेको देखिन्छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले यो घटनामा अभद्र मुद्दा चलाएर भाडावाली प्रविना खत्री पौडेल र उनका निकट मानिने गुण्डा भक्तपुरका ३९ वर्षका विजयन्त प्रताप शर्मा उर्फ ‘बब शर्मा’लाई कार्बाही समेत गरेको देखिन्छ ।

अभद्र व्यवहारको मुद्दामा प्रविनालाई ७ हजार जरिवाना र शर्मालाई १५ दिन हिरासतमा राखेको समेत देखिन्छ । बब शर्मा भन्ने व्यक्ति घरधनी र बहालवालीसँग सम्बन्धित नभए पनि बारम्बार घरधनीहरूलाई धक्याउने, दुर्व्यवहार गर्ने काममा संलग्न भएको भेटिएको छ । घरधनी पक्षका अनुसार उनी एक दलाल गिरोह रहेको बुझिएको छ । सोझासाझा र वृद्धवृद्धालाई धक्याएर जग्गा हत्याउने गिरोहको एक नाइकेका रुपमा बब न्यूरोड एरियामा सक्रिय रहेको पाइएको छ । गुण्डा भनिने बब शर्माले बहालमा बस्नेलाई देखाएर घरधनीलाई बारम्बार धम्क्याएको देखिन्छ । घटनाहरू हेर्दा उनी जग्गा दलालीको गिरोहमा संलग्न भएर गुण्डागर्दीमा सक्रिय रहेको देखिन्छ । 

गुण्डा भनिने बबसँग वडाध्यक्षको सम्बन्ध शंकास्पद 

अहिले पनि बब शर्मा भन्ने विजयन्त प्रताप शर्मासँग वडा अध्यक्ष चिनिकाजीको नजिकको सम्बन्ध रहेको देखिन्छ । वडा अध्यक्ष महर्जनकै कार्यकक्षमा मेयरसाप डटकमको टिम पुगेर घटनाबारे संवाद गर्दा पनि घरधनीले भनेको विवरण मिलेको देखियो । हामीसँगको संवादमा यो घटनामा मुछिएका सबै पक्षसँग  वडा अध्यक्ष महर्जनको निरन्तर संवाद हुने गरेको देखियो । गएको सोमबार, हामी गएकै समयमा पनि वडा अध्यक्ष महर्जनले घरधनीले पीडा दिएका व्यक्ति भनिएका विजयन्त प्रताप शर्मा उर्फ बब शर्मासँग संवाद गरी ‘घटनाबारे पछिल्लो समय के भएको छ ?’ भनेर जानकारी लिए ।

अध्यक्ष महर्जनले बब शर्माले मेयर बालेनलाई समेत थर्काउने भन्दै उ गुण्डा रहेको हामीलाई सुनाए । अध्यक्ष महर्जनले घरधनीका छोरा प्रविन बब शर्माको अगाडि त्रसिद हुने र बोल्नै नसक्ने चित्रण समेत गरे । तर त्यही व्यक्तिसँग भने आफ्‌नो राम्रो सम्बन्ध रहेको महर्जनले हामीहरुलाई लाउड स्पीकरमा लाइभ संवादमार्फत देखाए । वडा अध्यक्ष महर्जनले फोन संवादमा बब शर्मालाई सोधे– ‘त्यो घटनामा के भयो ?’ उताबाट जवाफ आयो–‘दाई ! त्यो मुद्दा त हामीले जित्यौं नि ! तर पूर्ण पाठ आउन बाँकी छ ।’ तर जिल्ला अदालत काठमाडौंमा घरधनीले भाडा दिलाई पाउँ भनेर मुद्दा दायर गरेर प्रविनालाई भाडा तिर्न अदालतले फैसला नै गरेको छ । बब शर्माले वडा अध्यक्षलाई यहाँ झुटो जानकारी दिएको सुनेपछि हामीले अदालतको फैसला नै वडा अध्यक्षलाई देखायौं ।

महर्जनले भाडामा बसेकी प्रविना खत्री पौडेललाई फोन नगरी बब शर्मा भन्ने व्यक्तिलाई फोन गरेर घटनाबारे जानकारी लिएको देखेपछि उनको साँठगाँठ उक्त गुण्डासँग भएको प्रमाणित नै भयो । उता घरधनी पक्षले पनि गुण्डाहरू परिचालन गरी आफ्‌नो घर नियन्त्रणमा लिएको पीडा मेयरसाप डटकमको कार्यलयमै आएर पोखेका थिए । प्रहरीले गुण्डा भनिने बब शर्मालाई घरधनीमाथि दुर्व्यवहार गरेको मुद्दामा १४ दिन थुनामा राखेको पनि देखिन्छ । यता दुर्व्यवहार मुद्दामा थुनिएका बब शर्मासँग असम्बन्धित घटनामा वडा अध्यक्षले किन जानकारी लिए भन्ने प्रश्न पनि उब्जिएको छ । खासमा यो घटनाबारे जानकारी वडा अध्यक्षले कि त घरधनी कि चाहिँ घर बहालमा बस्ने प्रविना खत्री पौडेलसँग लिनुपर्ने हो । तर उनले बब शर्मा भन्ने व्यक्तिसँग घटनाबारे जानकारी लिएको र उनको गुनगानसमेत गाएको देखिएकाले घरधनीलाई घर बेच्न बाध्य पार्ने गिरोहमा वडा अध्यक्ष पनि संलग्न रहेको आशंका बढाएको छ । 

त्यसैले अध्यक्ष महर्जनको प्रविना खत्री पौडेल र बब शर्मा भन्ने बिजयन्त प्रताप शर्मासँग नजिकको सम्बन्ध रहेको हामीले दाबी गर्यौ । भाडावाली प्रविनालाई हामीले बब शर्मा को हुन् भनेर सोधेका पनि थियौं । प्रविनाकाअनुसार शर्मा व्यापारका लागि उनलाई व्यक्तिगत ऋण उपलब्ध गराउने व्यक्ति हुन् । 

घटनाबारे वडा अध्यक्षलाई सम्पूर्ण जानकारी रहेको देखिन्छ । घटनासँग सम्बन्धित सबै पात्रहरुको सम्पर्क नम्बरसमेत उनले राखेको र बेलाबेला संवादसमेत भएको उनले नै जानकारी गराएका पनि छन् । तर ७३ वर्षकी एक वृद्धको घर वहालको विवाद समाधान गर्न अध्यक्ष महर्जन तयार देखिएका छैनन् ।

कानुन कार्यान्वयन गर्ने कुर्सीमा बसेर अध्यक्ष महर्जन उनको वडामा उल्टै घरबहालमा बस्नेलाई पैसा तिरेर घर खाली गराउने प्रचलन रहेको कानुनविपरीतका तर्कहरु प्रस्तुत गर्छन् । घरधनीले बहालमा उठेको रकम मिनाहा गरिदिनुपर्ने र अझ आवश्यक भए पैसा नै दिएर घर खाली गराउन लगाउनुपर्ने तर्क महर्जनको छ । महर्जन घरधनी प्रमिला सत्याल कार्की पीडित भएको त स्वीकार्छन । घटना समाधान आफैँले गर्न सक्ने तर्क पनि गर्छन् । तर समाधान गर्ने उपाय सुनाउँदा भने बहाल नदिएर घर कब्जा गर्ने व्यक्तिको पक्षमा वकालत गर्छन । हामीले महर्जनलाई समाधानको उपायबारे जिज्ञासा राख्दा घरधनीले घर खाली गराइदिएवापत पैसा तिर्नुपर्ने वा घर बहालमा बस्नेको पसल किन्छु भन्नेलाई घर धनीले पसल किनेर त्यही घरमा व्यवसाय गर्ने वातावरण बनाइदिनुपर्ने जस्ता कानुनविपरीतका तर्क अघि सार्छन् ।

प्रविना २ वर्षको ६० लाख बराबरको भाडा नतिरी अझै उही घरमा व्यापार गरिरहेकी छिन् । घरधनी प्रमिला भने भाडा उठाइदिन र घर खाली गराइदिन वडा, पालिका, जिल्ला प्रशासनदेखि अदालतसम्म धाइरहेकी छिन् ।

यस्तो छ कानूनी व्यवस्था 

मुलुकी देवानी संहिता ऐन २०७४ को दफा ३९० देखि ४०५ सम्म घरबहाल विवाद समाधानको कानुनी व्यवस्था छ । बुुँदा नम्बर ४०१ अनुसार उक्त घरमा बहालमा बस्ने प्रविनाले घर बहाल सम्झौता विपरीत काम गरेमा वा बहाल सम्झौता सकिएमा तत्काल हटाउन मिल्ने व्यवस्था छ । तर यी कानुनी व्यवस्थाको कार्यान्वयन स्थानीय सरकारले गर्नुपर्ने र उक्त ऐन कार्यान्वयन गर्दा आवश्यक सहयोग चाहिए जिल्ला प्रशासन कार्यालयमा सहयोग माग्न सक्ने व्यवस्था रहेको जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रवक्ता अशोककुमार भण्डारी बताउँछन् । उता कामनपाको न्यायिक समितिका वरिष्ठ शाखा अधिकृत सुशिल कुंवरले घरबहालको विषय न्यायिक समितिले पनि हेर्ने बताए ।

तर वार्षिक २५ लाखसम्मको कारोबारको विषय मात्रै हेर्ने भएकाले न्यायिक समितिले यो विवाद हेर्न सहज नहुने कुंवर बताउँछन् । वडाले नै यो विषय समाधान गर्नुपर्ने काठमाण्डौको न्यायिक समिति सचिवालयको तर्क छ । जिल्ला प्रहरी कार्यालयमा पनि यो विषयमा निवेदन दर्ता गरिएको छ । जिल्ला प्रहरी पनि यो विषयमा आफूले एक्लै केही गर्न नमिल्ने बताउँछ । कानुनका ज्ञाता भने यो विवाद वडा अध्यक्षको रोहबरमा प्रहरीको सहयोग लिएर बहालमा बस्नेलाई हटाएर घर धनीको जिम्मामा दिन सक्ने व्यवस्था रहेको जानकारी दिन्छन् । त्यसमा वडा अध्यक्षले सहयोग गर्नुपर्ने देखिन्छ ।