के हाे ‘डिजिटल रेप’ : कानूनी शब्द नभए पनि कस्तो हुन्छ नेपालमा सजाय ?

User Image पुष्पलाल घलान | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/22/Digital Rape in Nepal.png
तस्बिर: एआइ

काठमाडौं । ‘डिजिटल रेप’ भन्ने शब्द सुन्दा धेरैलाई लाग्छ– यो इन्टरनेट, मोबाइल वा अन्य विद्युतीय उपकरणमार्फत हुने यौन शोषण हो । अर्थात एक प्रकारको ‘साइबर क्राइम’ हो । वास्तविकतामा यसको अर्थ पृथक छ ।

साइबर क्राइम भनेको ‘इन्टरनेट’ वा विद्युतीय उपकरणमार्फत गरिने अपराध हो । जुन अभौतिक रुपमा गरिन्छ । तर ‘डिजिटल रेप’ भनेको बलात्कारकै एक प्रकार हो । कानूनी रुपमा यसलाई बलात्करकै श्रेणीमा राखिएको छ । डिजिटल शब्द यहाँ औंला वा औंठासँग सम्बन्धित छ । ‘डिजिटल रेप’ अंग्रेजीको दुई शब्द ‘डिजिट’ र ‘रेप’ मिलेर बनेको हो । ‘डिजिट’ भनेको अंक हो । तर अंग्रेजीमा ‘औंला, औंठा, खुट्टाको औंलालाई पनि ‘डिजिट’ भनिन्छ । 

यही सन्दर्भमा शरीरका अंगहरु औंला, औंठा र खुट्टाको औंलालाई डिजिटलको रुपमा अर्थ्याएको पाइन्छ । कसैले पनि कुनै महिलाको अनुमतिबिना उसको योनीमा औंला वा औंठा लगायतका वस्तु घुसाएमा त्यसलाई ‘डिजिटल रेप’ भनिन्छ । ‘डिजिटल रेप’ एक गम्भीर यौन अपराध हो ।

नौलो शब्द

‘डिजिटल रेप’ शब्दको प्रयोग भारतबाट भएको हो । सन् २०१२ मा दिल्लीमा निर्भयामाथि भएको बलात्कार प्रकरणपछि यौन अपराधसँग सम्बन्धित कानूनहरु संशोधन गरी कडा बनाइयो । नयाँ कानूनमा "penetration with any object or body part except penis" लाई पनि बलात्कार मानियो ।  

त्यस पश्चात भारतका अदालतहरूबाट धेरै निर्णयहरू भएका छन् जसमा ’डिजिटल रेप’ शब्द प्रयोग गरिएको छ । करिब एक हप्ता अगाडि (१३ अगस्त) उत्तर प्रदेशको गौतम बुद्ध नगरको जिल्ला अदालतले ‘डिजिटल रेप’को एक मुद्धामा एक अभियुक्तलाई दोषी ठहर गर्दै आजीवन कैद सजाय सुनाएको थियो ।  

नेपालीहरुको लागि भने ‘डिजिटल रेप’ शब्द नौलो हो । नेपाली समाज र नेपाली कानुनी क्षेत्रमा कतै पनि यो शब्दको प्रयोग भएको पाईँदैन । कानूनी रुपमा ‘डिजिटल रेप’ शब्दको प्रयोग नभएपनि बलात्कार वा जवर्जस्ती करणीको रुपमा यसलाई परिभाषित गरेको पाइन्छ । 

अदालतबाट यस प्रकारका मुद्धाहरुको फैसला हुँदा ‘डिजिटल रेप’ शब्दको प्रयोग गर्ने परिपाटी अहिलेसम्म भइनसकेको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दिपक कुमार श्रेष्ठ बताउँछन् । कानूनी रुपमा मुलुकी अपराध संहिताले यस सम्बन्धी व्यवस्थालाई स्वीकार गरिसकेको भएपनि ठ्याक्कै शब्द चाँही उल्लेख गरेको नपाइएको उनको भनाई छ । 

‘नुहाउने क्रममा हात चिप्लिएर गएर बच्चालाई पेनिट्रेशन भएको केशमा पनि जवर्जस्ती करणी हुने मानिएको छ, यो ‘डिजिटल रेप’ हो’, श्रेष्ठ भन्छन्, ‘भारतको अदालतहरुले गरेको फैसलालाई नेपालले पनि स्वीकार गर्ने हुँदा विस्तारै ‘डिजिटल रेप’ शब्दको प्रयोग हुन सक्छ ।’

करणी र ‘डिजिटल रेप’बीच भिन्नता

कानूनका जानकारहरुका अनुसार विगतमा यौन अपराधका यस्ता घटनाहरुमा लिङ्गको प्रयोग नहुने हुनाले पीडितलाई न्याय पाउन गाह्रो हुन्थ्यो । अभियुक्तहरू प्रायः सजिलै उम्किने गर्दथे । किनभने योनिमा लिङ्ग प्रवेश गर्नुलाई मात्र बलात्कार मानिन्थ्यो । यस्ता घटनाहरूमा बलात्कारको कसूर लागू नभएको कारण दोषीलाई कम सजाय दिइन्थ्यो । तर अहिले हाम्रो मुलुकी अपराध संहिता, २०७४ ले यसबारेमा विस्तृत परिभाषा नै उल्लेख गरेको छ ।

अधिवक्ता निलकमल चौहान भन्छन्, ‘डिजिटल बलात्कार भनेको यौन अपराध हो, जसमा सहमति बिना महिलाको योनीमा औंला वा अन्य कुनै वस्तु घुसाइन्छ ।’ विगतमा योनिमा लिङ्ग प्रवेश गर्नुलाई मात्र बलात्कार मानिन्थ्यो । योनिमा औंला वा कुनै पनि वस्तु प्रवेश गर्नुलाई बलात्कार नमानेको कारण दोषीलाई कम सजाय हुन्थ्यो । उनी भन्छन्, ‘अब लिङ्ग बाहेकका शरीरका अन्य अंग वा वस्तु प्रवेशलाई पनि स्पष्ट रूपमा बलात्कार मानिन्छ ।’

के छ कानूनी व्यवस्था ?

नेपालमा ‘डिजिटल रेप’ शब्दको प्रयोग न्यून मात्रामा भएपनि स्पष्ट कानूनी व्यवस्था रहेको छ । मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद–१८ मा करणी सम्बन्धी कसूरको व्यवस्था गरिएको छ । अपराध संहिताको दफा २१९ मा ‘कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि १८ वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा जवर्जस्ती करणी गरेको मानिने’ उल्लेख गरेको छ ।

सोही दफाको उपदफा २ (ग) अनुसार ‘गुदद्वार वा मुखमा लिङ्ग पसाएमा, गुदद्वार, मुख वा योनिमा लिङ्ग केही मात्र पसेको भएमा, लिङ्गबाहेक अन्य कुनै वस्तु योनिमा प्रवेश गराएमा पनि जवर्जस्ती करणी गरेको मानिन्छ । यो परिभाषाले ‘डिजिटल रेप’ लाई समेत समेटेको छ । यस प्रकारको जघन्य अपराध (जवर्जस्ती करणी) गर्नेलाई करणी गर्दाको परिस्थिति र महिलाको उमेर हेरी कम्तिमा ७ वर्षदेखि जन्म कैदसम्मको सजाय हुन्छ ।

संहिताको दफा २२७ अनुसार करणी सम्बन्धी कसुरमा मिलापत्र गर्न वा गराउन नहुने व्यवस्था रहेको छ । यस्तै धारा २२९ मा कसूर भएको मितिले २ वर्षभित्र पीडितले उजुर गर्न सकिने प्रावधान छ । 

कानूनमा उत्तिकै सजाय

जवर्जस्ती करणीको घटनामा प्रहरीले तुरुन्तै स्वास्थ्य परीक्षण, फोरेन्सिक नमूनाहरू लिनु पर्छ र पीडितको बयान रेकर्ड गर्नुपर्छ । अधिवक्ता नलिकमल चौहान भन्छन्, ‘धेरैजसो मेडिकल रिपोर्टमा योनीमा चोटपटक नभएको लेखिएको हुन्छ, जसले मुद्दालाई कमजोर बनाउँछ । तर कानून अनुसार बलात्कारका घटनामा योनीमा चोटपटक हुनु आवश्यक छैन ।’ ‘लिङ्ग प्रवेश नगरीकनै पनि बलात्कार हुन्छ’, उनले भने, ‘कानूनमा उत्तिकै कडा सजायको व्यवस्था गरिएको छ ।’

पीडितलाई पर्ने प्रभाव

कानून व्यवसायी (अधिवक्ता) नेल्शन घलान भन्छन्, ‘डिजिटल रेप’का घटनाहरूमा हुने मानसिक र भावनात्मक आघात अन्य बलात्कारका घटनाहरू जस्तै हुन्छ । धेरैजसो मानिसहरूले ‘डिजिटल रेप’ बुझ्दैनन्, तर कानून अनुसार यो बलात्कार हो  ।’

घलान अगाडि भन्छन्, ‘यौन शिक्षा विद्यालय र कलेजभन्दा पहिले घरबाट सुरु हुनुपर्छ । राम्रो स्पर्श (गुड टच), नराम्रो स्पर्श (ब्याड टच) जस्ता कुराहरू बच्चाहरूलाई सिकाउनुपर्छ । समाजले यस्ता अपराधहरूलाई गम्भीरतापूर्वक लिनुपर्छ र पीडितलाई दोष दिन बन्द गर्नुपर्छ ।’

अब के गर्ने ?

भारतमा सन् २०१२ मा बलात्कार सम्बन्धी कानूनलाई संशोधन गरी योनीमा हुने कुनै प्रकारको पेनिट्रेशनलाई जवर्जस्ती करणी मान्न सुरु गरियो र ‘डिजिटल रेप’ शब्द प्रचलनमा आयो ।  त्यसको झण्डै ५ वर्षपछि नेपालमा पनि मुलुकी अपराध संहिता, २०७४ जारी भयो । अपराध संहितामा योनीमा लिङ्गबाहेक हुने कुनै पेनिट्रेशनलाई जवर्जस्ती करणी मान्ने व्यवस्था छ ।

तर ‘डिजिटल रेप’ शब्दको प्रयोग गरिएको छैन । यस प्रकारको अपराधलाई समेट्ने विधायिकी मनसाय देखिए पनि शब्द सीमितताका कारण कानून कार्यान्वयनमा कहिले काँही समस्या हुन सक्ने कानूनका जानकारहरु बताउँछन् ।

यदि ‘डिजिटल रेप’ शब्द राखेको भए मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ (ग) को परिभाषाले व्यापक रुप लिन्थ्यो । पीडितले उचित न्याय पाउने अवस्था रहन्थ्यो । ‘एउटा शब्दको कमीले गर्दा परिभाषा भित्र परेन भनेर अभियुक्तले उन्मुक्ति पाइरहेको त छैन ?’, अधिवक्ता चौहान प्रश्न गर्छन्‌’, ‘किन भने ठ्याक्कै त्यही शब्दको प्रयोग नहुँदा करणीको ‘केस’ यौन दुर्व्यवहारतर्फ पनि मोडिन सक्छ । कानूनमा ‘डिजिटल रेप’ शब्द राख्दा के हुन्छ र नराख्दा के हुन्छ भन्नेबारे बहस हुनु अनिवार्य रहेको जानकारहरूको तर्क छ ।


Facebook Comments