मकवानपुरगढी दरबार: सेन वंशको राजधानीदेखि नेपाल पुनःएकीकरणको निर्णायक आधारसम्म
मकवानपुर । अग्लो डाँडाको टुप्पामा उभिएका ढुंगाका पर्खाल, जीर्ण दरबारका भग्नावशेष र चारैतिर फैलिएको हरियाली—आज मौन देखिने यी संरचनाले कुनै समयको शक्ति, वैभव र राजनीतिक महत्वको कथा बोलिरहेका छन् ।
हाल भग्नावशेषमा सीमित देखिने मकवानपुर गढी दरबार कुनैबेला स्वतन्त्र राज्य ‘मकवानपुर’को राजधानी थियो। यही गढीले सेन वंशीय राजाहरूको शासन देख्यो, पृथ्वीनारायण शाहको ससुराली सम्बन्धको ऐतिहासिक साक्षी बन्यो र नेपाल पुनःएकीकरणको निर्णायक युद्धको केन्द्रसमेत रह्यो ।
हेटौंडाको बुद्ध चोकबाट करिब १७ किलोमिटर पूर्व, समुद्री सतहबाट करिब १ हजार १९ मिटर उचाइमा अवस्थित मकवानपुरगढी ऐतिहासिक, पुरातात्विक, धार्मिक र सामरिक दृष्टिले महत्वपूर्ण सम्पदा हो। करिब १३२ रोपनी क्षेत्रफलमा फैलिएको यो गढी नेपालकै ठूला गढीमध्ये एक मानिन्छ।
सेन वंश र मकवानपुर राज्य
इतिहासकारहरूका अनुसार मकवानपुरगढी वि.सं. १६१० तिर सेन वंशीय राजाको शासनकालमा निर्माण गरिएको हो। पाल्पाका मुकुन्द सेनले स्थापना गरेको मकवानपुर राज्य पहाड र तराई जोड्ने प्रमुख मार्गको केन्द्रमा पर्दथ्यो। यही भौगोलिक अवस्थाका कारण मकवानपुर राज्य आर्थिक, व्यापारिक र सामरिक रूपमा सबल थियो।
मुकुन्द सेनपछि लुहाङ सेन, राघव नरेन्द्र सेन, हरिहर इन्द्र सेन, शुभ सेन, माणिक सेन, हेमकर्ण सेन हुँदै अन्तिम राजा दिग्वन्धन सेनसम्मले यही गढीबाट राज्य सञ्चालन गरे। मकवानपुरगढी प्रशासनिक केन्द्र मात्र नभई सैन्य रणनीति, कर संकलन र राज्य सुरक्षाको मुख्य आधार थियो। चारैतिरका पर्खाल, किल्ला, पहरेदार बस्ने संरचना र जेलका रूपमा प्रयोग गरिएका खाल्डाहरूले तत्कालीन सैन्य व्यवस्थाको संकेत दिन्छन्।
पृथ्वीनारायण शाहको ससुराली सम्बन्ध
मकवानपुरगढीलाई पृथ्वीनारायण शाहको ससुराली भनिनुको ऐतिहासिक आधार छ। सेन वंशका राजा हेमकर्ण सेनले आफ्नी छोरीको विवाह गोरखाका राजा पृथ्वीनारायण शाहसँग गरिदिएका थिए। शक्तिशाली सेन राज्यसँग वैवाहिक सम्बन्ध जोडिएपछि गोरखा राज्यलाई भविष्यमा सहयोग मिल्ने अपेक्षा गरिएको थियो।
तर वंशावलीकारहरूको विवरणअनुसार दरबारी व्यवहार र राजनीतिक असहमतिका कारण पृथ्वीनारायण शाह पत्नीलाई समेत नलिई गोरखा फर्किन बाध्य भए। यही घटनाले उनको मनमा रहेको नेपाल पुनःएकीकरणको आकांक्षालाई अझ दृढ बनाएको मानिन्छ। त्यसपछि उनले चौबिसे–बाइसि राज्यहरूसँग वैवाहिक सम्बन्ध नराख्ने निर्णयसमेत गरेको उल्लेख पाइन्छ।
निर्णायक युद्ध
वि.सं. १८१९ भदौ ९ गते मकवानपुरगढीमा इतिहासकै निर्णायक र रक्तरञ्जित युद्ध भयो। पृथ्वीनारायण शाहले मोहोदम कीर्ति शाह, शुरप्रताप शाह, दलमर्दन शाह, रणरुद्र शाह, नन्दु शाह तथा काजी बंसराज पाँडे, कहरसिंह बस्नेत, नरसिंह बस्नेत र अभिमानसिंह बस्नेतको नेतृत्वमा करिब ११०० गोर्खाली सेना मकवानपुर पठाए ।
शिलालेखअनुसार उक्त युद्धमा करिब १०० गोर्खाली र ४००–५०० मकवानपुरे सेनाले सहादत प्राप्त गरे। लामो समय अजेय मानिएको मकवानपुरगढी अन्ततः गोर्खाली सेनाको नियन्त्रणमा आयो र यससँगै सेन वंशको शासन अन्त्य भयो। अन्तिम राजा दिग्वन्धन सेन भागेर पर्साको हरिहरपुरगढी पुगे पनि केही समयपछि त्यो गढीसमेत गोर्खाली सेनाले कब्जा गर्यो ।
विदेशी आक्रमण र विजय
मकवानपुर गुमेपछि सेन पक्षधरहरू बंगालका नवाब मीर कासिमको शरणमा पुगे। त्यसपछि वि.सं. १८१९ पौष २७ गते मीर कासिमको फौजले मकवानपुरमा आक्रमण गर्यो। तर गोर्खाली सेनाले वि.सं. १८१९ माघ १० गते विदेशी फौजलाई परास्त गर्यो। इतिहासकारहरूका अनुसार उक्त युद्धमा पराजय भएको भए नेपाल पुनःएकीकरण नै असम्भव हुन सक्थ्यो। यही कारण मकवानपुरगढीलाई पुनःएकीकरणको आधारभूमि मानिन्छ।
पुनःएकीकरणमा मकवानपुरको भूमिका
इतिहासकारहरूले मकवानपुरगढीको महत्व तीन बुँदामा स्पष्ट गर्छन्— पहिलो, पृथ्वीनारायण शाहलाई एकीकरण अभियानतर्फ निर्णायक रूपमा अघि बढ्न प्रेरणा मिल्नु । दोस्रो, पुनःएकीकरणको क्रममा पूर्ण रूपमा जितिएको पहिलो स्वतन्त्र राज्य हुनु । तेस्रो, अभियान सुरु भएपछि भएको पहिलो विदेशी आक्रमणलाई परास्त गर्नु।
धार्मिक आस्था र किंवदन्ती
गढीभित्र रहेको बंसगोपाल (कृष्ण) मन्दिर धार्मिक आस्थाको केन्द्र हो। यहाँको कृष्ण प्रतिमालाई फलामको साङ्लोले बाँधिएको देख्न सकिन्छ, जुन दुर्लभ मानिन्छ। स्थानीय किंवदन्ती अनुसार, भगवान कृष्ण राति मन्दिरबाट निस्केर छतिवनतिर जाने विश्वासका कारण राज्यमा अनिष्ट नहोस् भनेर प्रतिमालाई साङ्लोले बाँधिएको हो।
संरक्षणको चुनौती र सम्भावना
हाल मकवानपुरगढी दरबार जीर्ण अवस्थामा छ। युद्धकालीन धेरै पुरातात्विक सामग्री हराइसकेका छन्। संरक्षण अभियन्ताहरूका अनुसार पर्याप्त सुरक्षा र व्यवस्थापनको अभावमा संरचना थप क्षतिग्रस्त हुँदै गएको छ। करिब ४० करोड रुपैयाँ लागतको गुरुयोजना तयार भए पनि बजेट अभावले कार्यान्वयन हुन सकेको छैन ।
यद्यपि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रवर्द्धन गर्नुपर्ने नयाँ १०० पर्यटकीय गन्तव्यमा मकवानपुरगढीलाई समेटेपछि संरक्षण र विकासप्रति नयाँ आशा पलाएको छ। कान्ति लोकपथसँग जोडिएको यो स्थलमा पक्की सडक पुगे पनि प्रचार–प्रसारको कमीका कारण अपेक्षित संख्यामा पर्यटक पुग्न सकेका छैनन्। अग्लो डाँडाबाट देखिने प्राकृतिक दृश्य र ऐतिहासिक संरचनाले इतिहास अध्ययन तथा पर्यटनका लागि मकवानपुरगढीलाई अझै ठूलो सम्भावनायुक्त गन्तव्य बनाइरहेको छ।
Facebook Comments