बैतडीमा माटो सफाइमा करोडौँ खर्च, ग्रामीण सडक दिगो बनाउन उपेक्षा
बैतडीका पुर्चौडी नगरपालिका, दोगडाकेदार गाउँपालिका, डिलासैनी गाउँपालिका, दशरथचन्द नगरपालिका, सुर्नया गाउँपालिका, सिगास गाउँपालिका, पाटन नगरपालिका, शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, र मेलौली नगरपालिकाले माटो सफाइमा करोडौँ रुपैयाँ खर्च गर्दै आएका छन्।
Mayorsap
बिही, असोज ३, २०८१ | १५:०८ बजे
बैतडी । बैतडीका चार नगरपालिका र छ वटा गाउँपालिकाले ग्रामीण सडकको माटो सफा गर्न बर्सेनि आठ करोड रुपैयाँभन्दा बढी खर्च गरिरहेका छन्।
बैतडीका पुर्चौडी नगरपालिका, दोगडाकेदार गाउँपालिका, डिलासैनी गाउँपालिका, दशरथचन्द नगरपालिका, सुर्नया गाउँपालिका, सिगास गाउँपालिका, पाटन नगरपालिका, शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, र मेलौली नगरपालिकाले माटो सफाइमा करोडौँ रुपैयाँ खर्च गर्दै आएका छन्।पछिल्लो छ वर्षमा मात्र यी स्थानीय तहहरूले माटो सफाइमा ४८ करोड रुपैयाँभन्दा बढी खर्च गरेका छन्, जुन पाटन–पञ्चेश्वर दुई लेन कालोपत्रे सडकमा भएको खर्च बराबर हो। यस वर्ष पनि पालिकाले दसैँतिहारलक्षित माटो सफा गर्ने तयारी गरिरहेका छन्।
महालेखा परीक्षकको वार्षिक प्रतिवेदन, २०८१ अनुसार, बैतडीका स्थानीय तहहरूले २०८० मा सडक सफाइ र इन्धनमा सात करोड ९० लाख रुपैयाँभन्दा बढी खर्च गरेका छन्। तर, माटो सफाइ गरिएका अधिकांश सडकहरू मापदण्डअनुसार निर्माण भएका छैनन् र यातायात चल्ने स्वीकृति पनि पाउन सकेका छैनन्। प्रतिवेदनमा विशेष गरी पुर्चौडी नगरपालिकाले ५७ लाख २० हजार रुपैयाँ इन्धनमा खर्च गरेर ७४ हजार ९८७ धनमिटर माटो सफा गरे पनि लागतको तुलनामा वास्तविक काम भएको देखिएको छैन भनी टिप्पणी गरिएको छ।
दोगडाकेदार गाउँपालिकाले भने सडक सफाइका लागि स्वयंसेवक नै नियुक्त गरेर वार्षिक ६६ लाख ८० हजार रुपैयाँ खर्च गर्दै आएको छ, जुन नियमसंगत नभएको महालेखाले औंल्याएको छ। गत वर्ष सडक सफाइ र इन्धनमा डिलासैनी गाउँपालिकाले ६० लाख रुपैयाँ, दशरथचन्द नगरपालिकाले ७५ लाख रुपैयाँ, सुर्नया गाउँपालिकाले २४ लाख रुपैयाँ, सिगास गाउँपालिकाले ७३ लाख रुपैयाँ र गाडी भाडामा ११ लाख रुपैयाँ खर्च गरेका छन्।
सडक बने, नियमित मोटर चल्दैन : स्थानीय तहहरूले पछिल्लो सात वर्षमा झन्डै दुई हजार किलोमिटर ग्रामीण सडक खनेका छन्। अर्बौँ रुपैयाँ खर्च भए पनि अधिकांश सडकमा नियमित यातायात चल्दैन।
दुई जिल्लामा सडक कालोपत्रे : बैतडी र दार्चुलामा पाटन–पञ्चेश्वर, सतबाँझ–श्रीभावर, ढोल्यामोड–हाट, देहिमाण्डौं–गिरेगाडा, र दार्चुला–खार सडक कालोपत्रे भएपछि यी सडकहरूले करिब डेढ लाख मानिसलाई प्रदेश र संघीय राजधानीसँग प्रत्यक्ष रूपमा जोडेका छन्।
स्थानीय तहले सडक बिगारे : सडक डिभिजन कार्यालय पाटनका प्राविधिकहरूले स्थानीय तहहरूले मापदण्ड नपु¥याई जथाभाबी सडक निर्माण गर्दा मुख्य राजमार्गहरूमा क्षति पुर्याएको बताएका छन्।